काठमाडौं, २७ फागुन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले कैलाली घोडाघडी नगरपालिकामा १८ वर्षीया राधा चौधरीमाथि कुटपिट भएको चार दिनपछि मुख खोलेको छ ।
आइतबार प्रधानमन्त्री केपी ओलीका प्रेस संयोजक रामशरण बजगाईंले विज्ञप्ति जारी गरी दोषीमाथि तत्काल कारबाही गर्न जिल्ला प्रशासन कार्यालय कैलालीलाई निर्देशन दिएको उल्लेख गरेका छन् ।विज्ञप्तिमा पीडित राधा चौधरीको उपचारमा लागेको सम्पूर्ण खर्च सरकारले बेहोर्ने उल्लेख छ । कुटपिटमा संलग्न व्यक्तिहरूलाई प्रहरीले त्यसै छाडेको भन्नेबारे तत्काल छानबिन गरी आवश्यक कारबाही गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइएको हो ।फागुन २४ गते कैलालीको घोडाघोडीमा राधा चौधरीलाई बोक्सीको आरोपमा आफूलाई भोलेबाबा बताउने स्थानीय रामबहादुर चौधरीले सार्वजनिक रूपमा ६ घन्टासम्म कुटपिट गरेका थिए ।प्रहरीले रामबहादुरलाई पक्राउ गरे पनि उनलाई तत्कालै छाडिएको थियो । सो विषयलाई लिएर चौतर्फी आलोचना भएपछि सरकारले आवश्यक गृहकार्य सुरु गरेको हो ।सो घटनामा सहभागी भएका घोडाघडी नगरपालिका प्रमुख ममताप्रसाद चौधरीले मिलापत्र गराएको भन्दै एमालेले आन्तरिक रूपमा उनीमाथि कारबाही प्रक्रिया अघि बढाउने भएको छ ।एमालेले मेयर ममताप्रसाद चौधरी विरूद्ध कार्यवाही सुरू गरेको छ । मेयर चौधरी एमाले जिल्ला कमिटी सदस्य तथा बुद्धिजीवी परिषदका जिल्ला उपाध्यक्षसमेत हुन् ।यस्तै घटनाको जाहेरी दर्ता गर्न नमान्ने इलाका प्रहरी कार्यालय सुख्खडका निमित्त प्रमुख सइ दिनेश विष्ट निलम्बित भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीले विष्टले दिएको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै निलम्बित गरेको जनाएकाे छ । विष्टसँग जिल्ला प्रहरी कार्यलयले लिखित स्पष्टीकरण मागेको थियो ।
No comments:
Post a Comment